काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रमा पुगेर मनोनयन पत्र दर्ता गर्न सक्नेछन्। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहीबार उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम रहेको छ।
यस्तै, पुस २७ गते उम्मेदवारले चाहेको खण्डमा आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यको पद पूर्ति गरिनेछ।




