काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले मधेशी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको भन्दै उनको कडा आलोचना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले प्रयोग गरेको मैथिली शब्दलाई गलत रूपमा व्याख्या गरेपछि यो विवाद उत्पन्न भएको हो ।
विवादको चुरोस् गत सोमबार जनकपुरमा आयोजित रास्वपाको सभामा नेता बालेन शाहले मैथिली भाषामा ‘मधेशिया छौरा’ शब्द प्रयोग गरेका थिए । मैथिली व्याकरणअनुसार ‘छौरा’ को अर्थ ‘केटो’ वा ‘छोरो’ हुन्छ, जुन मधेशमा बोलचालको सामान्य शब्द हो ।
तर, एमाले नेता बस्नेतले सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा उक्त शब्दलाई अपभ्रंश गर्दै ‘छाउरा’ (कुकुरको बच्चा) भनी अर्थ्याएका छन् । बस्नेतको यो व्याख्याले मधेशी समुदायको पहिचान र भाषामाथि गम्भीर प्रहार गरेको भन्दै सामाजिक सञ्जाल र राजनीतिक क्षेत्रमा तीव्र विरोध भइरहेको छ ।




