भक्तपुर । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–२, सानोठिमीस्थित बाल सुधार गृहमा बिहीबार राति भीषण झडप, आगजनी र तोडफोड हुँदा १३ जना घाइते भएका छन्। सुधार गृहमा रहेका दुई समूहबीच बिहीबार राति करिब १० बजेदेखि सुरु भएको विवादले उग्र रूप लिँदा स्थिति तनावग्रस्त बनेको थियो।
प्रहरीका अनुसार झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत सुधार गृहभित्रबाट इँटा र ढुंगा प्रहार गरिएको थियो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। स्थिति नियन्त्रणमा लिने क्रममा दुई जना सुरक्षाकर्मी समेत घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
झडपका क्रममा सुधार गृहभित्र आगजनी र भौतिक संरचनामा व्यापक तोडफोड गरिएको छ। दुई पक्षबीचको विवादका कारण भौतिक क्षति भएको छ, क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
सुधार गृहमा एक बालिकासहित कुल १६४ जना रहेका थिए। घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनीहरूलाई तत्कालका लागि भक्तपुर र काठमाडौँ प्रहरी परिसरका बाल निगरानी कक्षामा स्थानान्तरण गरिएको छ।
झडपको स्पष्ट कारण खुल्न नसके पनि एक–अर्कालाई हेप्ने र कुटपिटबाट झडप सुरु भएको बताइएकाे छ। प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको र हाल अवस्था नियन्त्रणमा रहेको जानकारी दिएको छ। सानोठिमी क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ।




