काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धका गम्भीर अभियोगहरू फिर्ता लिने सरकारी निर्णयमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त रिटमाथि बहस भइरहेको छ। यसअघि माघ ८ गतेका लागि पेसी तोकिए पनि न्यायाधीश बालकृष्ण ढकालले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित भएको थियो। आजको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन सक्ने सम्भावना छ।
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा अघि नबढाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारीद्वारा गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा रहेका मुद्दाहरूमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोग संशोधन गर्ने निर्णय भएकाे थियाे।
उक्त निर्णय ‘बदनियतपूर्ण र गैरकानुनी’ रहेको दाबी गर्दै अधिवक्ता युवराज पौडेल ‘सफल’ लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।
महान्यायाधिवक्ताको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय गरे तापनि लामिछानेविरुद्धको सहकारी ठगी र कीर्ते सम्बन्धी मुद्दाहरू भने जिल्ला अदालतहरूमा यथावत नै छन्।




