काठमाडौं । साताको पहिलो कारोबार दिन आज धितोपत्र बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब ५८ अङ्कले बढेसँगै कारोबार रकमले पनि नयाँ उत्साह थपेको छ ।
आज नेप्से ५७.५५ अङ्क (२.१२ प्रतिशत) ले बढेर २,७७२.१७ को बिन्दुमा पुगेको छ । दिनभर ३३१ कम्पनीको ३ करोड ९ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा सबै उपसूचकहरू सकारात्मक (हरियो) देखिएका छन् । जसमध्ये होटल तथा पर्यटन र जलविद्युत् समूहमा बढी आकर्षण देखिएको छ । आजको कारोबारमा ८ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले आज सर्वाधिक नाफा कमाएका छन् ।
कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीको मात्रै ४३ करोड ५९ लाख ३३ हजार रुपैयाँ बराबरको १६ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ ।
लामो समयपछि नेप्सेमा देखिएको यो दोहोरो अङ्कको वृद्धि र उच्च कारोबार रकमले लगानीकर्ताको मनोबल उच्च रहेको संकेत गर्दछ । निर्वाचन नजिकिँदै गर्दा बजारमा तरलता सहज हुनु र बैंकको ब्याजदर घट्नुले पनि सेयर बजारमा सकारात्मक प्रभाव पारेको अनुमान गरिएको छ।




