नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष अजित पवारको बुधबार विमान दुर्घटनामा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पवार सवार निजी विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो। पवार मुम्बईबाट बारामतीतर्फ निजी विमानमार्फत यात्रा गरिरहेका थिए।
अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ। विमानमा पवारसँगै उनका निजी सहायक, सुरक्षा कर्मचारी तथा उडान दलका सदस्यहरू सवार थिए। दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको समाचारमा उल्लेख छ। दुर्घटनाको कारण र थप विवरण भने अझै खुल्न बाँकी रहेको बताइएको छ।
मुम्बईबाट बारामतीका लागि उडेको ‘बम्बार्डियर लियरजेट ४५’ विमान दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा दुर्घटनामा परेको थियो। प्रारम्भिक रिपोर्ट अनुसार पाेर भिजिविलिटीका कारण विमान दुर्घटना भएको हुनसक्ने नागरिक उड्डयन महानिर्देशनालयले जनाएको छ। दुर्घटना भएकाे विमान १६ वर्ष पुरानो दिल्लीस्थित चार्टर कम्पनी ‘भिएसआर’ को थियो।
अजित पवारको जन्म बारामतीमै भएको थियो र उनले आफ्नो राजनीतिक करियर पनि यहीँबाट बनाएका थिए। जिल्ला परिषद् चुनावअघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्ने कार्यक्रमका लागि उनी आफ्नो निर्वाचन क्षेत्र पुग्दै गर्दा यो दुखद घटना भएको हो।
अजित पवारको निधनले महाराष्ट्रको सत्ताधारी गठबन्धन र उनको आफ्नै पार्टीमा ठुलो संकट उत्पन्न गरेको छ। ६ पटक उपमुख्यमन्त्री भइसकेका पवार राज्यकै प्रभावशाली नेता मानिन्थे। महाराष्ट्र सरकारले उनको सम्मानमा ३ दिने राजकीय शोक घोषणा गरेको छ।




