राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य र स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
गत माघ ५ गते जनकपुरमा एक कार्यक्रमका क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो। सामान्य औषधिले मात्र निको नभएपछि उनलाई अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो। खुट्टामा लागेको सामान्य चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण देखिएपछि हिजो साँझ अस्पताल भर्ना गरिएको थियो । उनलाई ‘सेलुलाइटिस’ भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।
अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईका अनुसार अहिले उनलाई नशाबाट एन्टिबायोटिक्स दिएर उपचार भइरहेको छ। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार चिन्ता लिनुपर्ने अवस्था छैन र उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।





