ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी चार जना स्थानीय नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
आइतबार आयोजित चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधि सभा निर्वाचनमा ललितपुर–१ का उम्मेदवार उदयशमशेर राणाले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
कांग्रेस प्रवेश गर्ने नेताहरूमा नेकपा (एमाले) का पूर्व वडा कमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ र प्रताप स्याङ्ताङ, साथै नेकपा (माओवादी केन्द्र) का सक्रिय सदस्यहरू साहिला स्याङ्ताङ र राजु स्याङ्ताङ रहेका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राणाले नल्लुसहित सम्पूर्ण कोन्ज्योसोम क्षेत्रको विकास र समृद्धिका लागि नेपाली कांग्रेस निरन्तर प्रतिबद्ध रहेको बताए। उनले अनुभवी र प्रभावशाली नेताहरूको आगमनले पार्टीलाई थप ऊर्जा मिलेको र यसको प्रभाव आगामी निर्वाचनमा समेत देखिने विश्वास व्यक्त गरे।
नवप्रवेशी नेताहरूले वामपन्थी दलहरूमा देखिएको साङ्गठनिक विचलन र जनताप्रतिको उत्तरदायित्व कमजोर बन्दै गएको कारण आफूहरूले नयाँ राजनीतिक विकल्प रोजेको बताएका छन्। उनीहरूले नेपाली कांग्रेसको लोकतान्त्रिक अभ्यास, विकासमुखी दृष्टिकोण र जनतासँग प्रत्यक्ष जोडिने कार्यशैली आफूहरूलाई आकर्षक लागेको उल्लेख गरे।
स्थानीय स्तरमा एमाले र माओवादीका पूर्व वडा अध्यक्ष तथा सक्रिय नेताहरूले सामूहिक रूपमा पार्टी छाड्नुले कोन्ज्योसोम क्षेत्रमा वामपन्थी प्रभाव कमजोर बन्दै गएको संकेत गरेको छ। यसले आगामी दिनमा नेपाली कांग्रेसको साङ्गठनिक शक्ति थप सुदृढ हुने र राजनीतिक शक्ति सन्तुलनमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।




