काठमाडौं, माघ २५ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनपछि कांग्रेस देशकै सबैभन्दा नयाँ र रूपान्तरित पार्टी बनेको दाबी गर्दै यो सन्देश घर-घरसम्म पुर्याउन कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
काठमाडौँ क्षेत्र नम्बर ५ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भदौ २३ को ‘जेन-जी’ आन्दोलनको भावनालाई आत्मसात् गरेर कांग्रेस सच्चिएको बताए। उनले विगतका कमजोरी र नागरिकको आक्रोशलाई स्विकार्दै अब पार्टीभित्र पक्ष-विपक्षको गुटबन्दी अन्त्य भएको र सबै मिलेर देश बदल्ने अभियानमा लागेको प्रस्ट पारे।
सोही अवसरमा सभापति थापाले महामन्त्री प्रदीप पौडेललाई ‘जिम्मेवार विद्रोही’ नेताको संज्ञा दिँदै उहाँको इमान्दारिताको प्रशंसा गरे। सरकारमा रहँदा जनपक्षीय काम गर्न पौडेलले गरेको छटपटी र मन्त्रिपरिषद्मा युवाहरूको आवाज स्थापित गर्न खेलेको भूमिकाको स्मरण गर्दै थापाले समुन्नत नेपाल निर्माणका लागि संसद् र सरकारमा पौडेल जस्तो निष्ठावान् नेताको आवश्यकता रहेकोमा जोड दिए।
सभापति थापाले कांग्रेस महामन्त्री प्रदीप पौडेललाई जिम्मेवार विद्रोहीको संज्ञा दिएका छन् । कार्यक्रममा उनले भदौ २३ गतेको आन्दोलनका क्रममा प्रधानमन्त्रीसँग युवा आवाज सुन्नुपर्ने भनेर क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल भएको उल्लेख गरे । ‘भदौ २३ गते म निरन्तर सम्वादमा छु’,उनले भने, ‘त्यो दिन प्रधानमन्त्रीको क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल हो ।’
उनले मन्त्रीका रूपमा सरकारमा बस्दै गर्दा आफूले शुरू गरेको स्वास्थ्य बीमामा परेका अप्ठेरा हटाउन खोज्दा सहयोग नपाउँदा छट्पटिएको देखेको बताए ।




