काठमाडौं, माघ २८ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी देशका विभिन्न क्षेत्रमा राजनीतिक सरगर्मी बढेको छ।
यसै सिलसिलामा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को झुम्कामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको उपस्थितिमा चुनावी अभियान तीव्र पारिएको छ भने रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति नवराज वलीसहित तीन जना नेताहरू कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस उम्मेदवार राजु केसीको घरदैलो अभियानका क्रममा वलीसँगै लोकबहादुर खड्का र तिलक रोकायलाई पार्टीमा स्वागत गरिएको हो। उता, काठमाडौँ क्षेत्र नं ६ मा पनि चुनावी माहोल तातिएको छ, जहाँ नेपाली कांग्रेसका उम्मेदवार तथा काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ (कृष्ण) लाई अग्रज हाँस्यकलाकार शैलेन्द्र सिंखडाले ‘नथाकी खट्ने नेता’ भन्दै विजयको शुभकामना दिएका छन्।




