काठमाडौं, फागुन ४। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आफ्नो आधिकारिक ‘नागरिक करार’ सार्वजनिक गरेको छ।
रास्वपाले परम्परागत घोषणापत्र सार्वजनिक गर्नु अघि आफूले गरेका वाचा पूरा नगरे अर्को निर्वाचनमा पदबाटै असुल उपर गर्न सकिने कडा सर्तसहितको कानुनी तथा नैतिक दस्तावेज सार्वजनिक गरेको हो। यस दस्ताबेजमा पार्टीले आगामी ५ वर्षमा गर्ने कामहरूको स्पष्ट खाका र प्रतिबद्धता प्रस्तुत गरेको छ।
पार्टीले यसलाई केवल ‘घोषणापत्र’ नभनी नागरिकसँग गरिएको ‘कानुनी र नैतिक सम्झौता’ को रूपमा व्याख्या गरेको छ। करारपत्रमा मुख्य ५ वटा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ:
१) सदाचार र असल शासन: भ्रष्टाचार विरोधी महाअभियान चलाउने, २०४६ सालपछिका उच्चपदस्थहरूको सम्पत्ति छानबिन गर्ने र सरकारी सेवालाई पूर्ण डिजिटल बनाउने।
२) मध्यम वर्गीय विस्तार: ५ वर्षभित्र नेपालको कुल गार्हस्थ्य उत्पादनलाई १०० अर्ब डलर र प्रतिव्यक्ति आयलाई ३ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य।
३) काम, काम, काम: सूचना प्रविधि, कृषि र पर्यटन जस्ता क्षेत्रमा आगामी ५ वर्षभित्र १२ लाख नयाँ र मर्यादित रोजगारी सिर्जना गर्ने।
४) कनेक्टिभिटी: १५ हजार मेगावाट विद्युत् उत्पादन, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग र १० वटा ‘सिग्नेचर’ आयोजनाहरू सम्पन्न गर्ने।
४) प्रवास: विदेशमा रहेका नेपालीहरूलाई अनलाइन मताधिकार दिने, वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्ने र ‘डायस्पोरा फण्ड’ मार्फत सुरक्षित लगानीको वातावरण बनाउने।
करारको अन्त्यमा पार्टीले “काबु बाहिरको परिस्थिति बाहेक यी सर्तहरू पूरा गर्न नसके नागरिकले अर्को निर्वाचनमा राजनीतिक सजाय दिन सक्ने” भन्दै कडा प्रतिबद्धता जनाएको छ।




