काठमाडौं, फागुन ५ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दालाई तत्कालका लागि ‘होल्ड’ मा राख्ने निर्णय गरेको छ।
महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिने निर्णय गरेपछि सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो। तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दर्ता भएको हुनाले जिल्ला न्यायाधीश नितीश राईको इजलासले सर्वोच्चबाट आदेश नआएसम्म कुनै पनि प्रक्रिया अघि नबढाउने आदेश दिएको हो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थियो । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछाने प्रतिवादी रहेको सहकारी ठगी मुद्दा यथावत राख्दै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।




