काठमाडौं, फागुन ५ । महाराजगञ्जस्थित चप्पल कारखाना नजिकै सडकमा हिँडिरहेका असहाय वृद्धमाथि बर्बरतापूर्वक मुक्का र झापड बर्साउने पुरूष समातिएका छन्। पक्राउ पर्ने चालक पारस बम रहेकाे प्रहरीले जनाएकाे छ।
बा ३ च ११०३ नम्बरको हरियो जीपबाट ओर्लिएर ती वृद्धलाई ‘जड्याहा’ भन्दै मुक्का हानेका थिए । भिडिओमा उनीसँगै रहेकी एक महिलाले समेत वृद्धलाई औँला ठड्याउँदै हप्काएको देखिन्थ्याे। यस भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि कारबाहीको ठूलो दबाब परेको थियो।
ती वृद्धले आफूलाई ‘मुख छाडेको’ भन्दै बमले सडकमै उत्रिएर हातपात गरेको प्रारम्भिक जानकारी आएको छ। प्रतिकार गर्न नसक्ने वृद्धमाथि गरिएको यो अमानवीय व्यवहारको चौतर्फी आलोचना भइरहेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालक बमलाई नियन्त्रणमा लिएर हाल रामशाहपथमा राखेको छ।
#RespectElders




