विर्तामोड, फागुन ११ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले आफ्नो चुनावी घोषणापत्र (वाचा पत्र २०८२) सार्वजनिक गरेका छन्। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका शाहले ‘थिति बसाल्ने सङ्कल्प’ सहित आफ्नो योजना अघि सारेका हुन्।
यस्ताे छ बालेनको ‘वाचापत्र’
१. संसदमा भूमिका र सुशासन
घोषणापत्र सार्वजनिक गर्दै शाहले आफू निर्वाचित भएमा बेथिति र भ्रष्टाचारविरुद्ध संसदको अग्रपंक्तिमा उभिने प्रतिबद्धता जनाएका छन्। उनले राष्ट्रिय नीति तथा बजेटमा झापाका विकासका मुद्दाहरूलाई सशक्त रूपमा उठाउने र संघ, प्रदेश तथा स्थानीय तहका योजनाहरूको प्रभावकारी अनुगमन गर्ने बताएका छन्।
२. शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन
– शिक्षामा सीप: काठमाडौं महानगरमा सफल भएको ‘शिक्षामा सीप’ कार्यक्रम झापामा पनि लागू गरी विद्यार्थीहरूको वैदेशिक पलायन रोक्ने।
– डिजिटल पुस्तकालय: ऐतिहासिक त्रिभुवन पुस्तकालय (गौरीगञ्ज) लाई डिजिटल अध्ययन केन्द्रको रूपमा पुनर्जीवित गर्ने।
– स्वास्थ्य सेवा: विपन्नका लागि १० प्रतिशत शैया निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने र दमक अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्ने।
३. पूर्वाधार र गौरवका आयोजना
– रंगशाला निर्माण: आदिवासी जनजातिको पहिचान झल्किने गरी ‘आदिवासी जनजाति रंगशाला’ र ‘विराट बुद्ध पार्क’ को निर्माण सम्पन्न गर्ने।
– सडक: दमक–रवि–चिसापानी सडकलाई यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने।
४. कृषि र रोजगारीका नवीन योजना
– श्रम बैंक: प्रत्येक पालिकामा ‘श्रम बैंक’को अवधारणा लागू गर्ने।
– कृषि भण्डारण: कोल्ड स्टोर र ड्रायरसहितको ‘गौरादह कृषि भण्डारण केन्द्र’ स्थापना गर्ने।
– सिँचाइ: कन्काई-रतुवा सिँचाइ योजना विस्तार तथा लिफ्ट प्रविधिको प्रयोग गरी कृषियोग्य जमिनको उपयोगिता बढाउने।
५. सामाजिक न्याय र अधिकार
– महिला तथा अपाङ्गता: आमाको नामबाट नागरिकता लिने प्रक्रिया सरल बनाउने, ‘महिला कृषि कर्जा’ मार्फत सहुलियत प्रदान गर्ने र एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित रोजगारी कार्यक्रम सञ्चालन गर्ने।
– गौरीगञ्ज भन्सार: सीमावर्ती क्षेत्रको व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन गौरीगञ्ज भन्सारको स्तरोन्नति गर्ने।
‘मेरो राजनीति सेवा, इमानदारी र परिणाममा आधारित हुनेछ। राष्ट्रहित विपरीतका कुनै पनि सम्झौतामा मेरो सहमति हुने छैन।’–बालेन शाह






