उदयपुर, फागुन ११ । उदयपुरको उदयपुरगढी-७, अँधेरीस्थित जोगी टोलमा सोमबार दिउँसो एउटा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुंगे बस मदन भण्डारी लोकमार्गमा गुडिरहेका बेला दिउँसो करिब १२ बजे ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको थियो।
दुर्घटना लगत्तै स्थानीय र प्रहरीको सक्रियतामा घाइतेहरूको उद्धार गरी उपचारका लागि उदयपुर अस्पताल पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ओरालो र मोड भएको उक्त स्थानमा बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।




