काठमाडौं, फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि नेपाली कांग्रेसले रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ।
घुँडाको गम्भीर चोटका कारण साम्बा हाल जटिल शल्यक्रियाको तयारीमा रहेकी छन्। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट उक्त सहयोग रकम प्रदान गरिएको जानकारी दिए।
पार्टी उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङसँग टेलिफोन संवाद गरी खेलाडी उपचार कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोही बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा उक्त रकम जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ।
“हामी सबैले साथ दिन जरुरी छ” : सभापति गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा बढाउन साम्बाले पुर्याएको योगदानको उच्च सम्मान गर्दै यो सहयोग गरिएको बताएका छन्। “देशको गौरव बढाउने खेलाडीलाई यतिबेला हामी सबैले साथ दिनु हाम्रो कर्तव्य हो” सभापति थापाले भने। उनले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।




