मोरङ, फागुन १३ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुकुम्बासी समस्याको स्थायी समाधान र स्थानीयस्तरमै उच्च शिक्षाको पहुँच पुर्याउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ। मोरङमा आयोजित क्षेत्रीय सभालाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका ठोस योजनाहरू अघि सार्नुभयो।
सरकारी अस्पतालको सेवाप्रति चासो व्यक्त गर्दै डा. कोइरालाले ल्याब र रगत परीक्षणका लागि बिरामीहरू बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो। “सामान्य जाँचका लागि पनि निजी क्लिनिक जानुपर्ने अवस्था हुनुहुँदैन,” उहाँले भन्नुभयो, “आधुनिक ल्याब र पूर्ण रगत जाँच सेवा सरकारी अस्पतालमै उपलब्ध गराउने काम मेरो प्राथमिकतामा छ।” उहाँले आफ्नी आमाको स्मृतिमा सञ्चालित संस्थामार्फत भुरिगङ्गाका हरेक वडामा भइरहेको मासिक निःशुल्क स्वास्थ्य शिविरलाई अझ व्यवस्थित बनाइने समेत जानकारी दिनुभयो।
उच्च शिक्षाका लागि विद्यार्थीहरू विराटनगर धाउनुपर्ने बाध्यता हटाउन स्थानीयस्तरमै कलेज स्थापना गर्ने घोषणा डा. कोइरालाले गर्नुभयो। आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीले घरमै बसेर पढ्न पाउने वातावरण सिर्जना गर्ने उहाँको संकल्प छ।
सुकुम्बासी समुदायलाई सम्बोधन गर्दै उहाँले लालपुर्जा वितरण प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउने बताउनुभयो। “सम्बन्धित आयोगका केन्द्रीय सदस्यलाई क्षेत्रमै ल्याएर वास्तविक सुकुम्बासीले न्याय पाउने गरी काम अगाडि बढाइनेछ,” कोइरालाले भन्नुभयो।
सडक, खानेपानी र शिक्षा क्षेत्रमा भएका प्रगतिलाई निरन्तरता दिने उल्लेख गर्दै उहाँले महिला उद्यमशीलताका लागि विशेष तालिम र सहयोग उपलब्ध गराउने योजना सुनाउनुभयो। सभामा महिलाहरूको उत्साहजनक उपस्थितिलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि महिला सहभागिता अनिवार्य रहेको बताउनुभयो।
सम्बोधनको अन्त्यमा नेता कोइरालाले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रुख चिह्नमा मतदान गरी कांग्रेसलाई विजयी गराउन मतदाताहरूसँग आग्रह गर्नुभयो।




