काठमाडौं, फागुन १९ । नेपाल आयल निगमले आसन्न निर्वाचनको समयमा इन्धन आपूर्ति नियमित रहने सुनिश्चित गर्दै पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार एक सूचना जारी गर्दै पाइपलाइनमार्फत इन्धनको आयात निरन्तर भइरहेकाले बजारमा अभाव नहुने स्पष्ट पार्नुभयो।
कार्यकारी निर्देशक भट्टले इन्धनलाई घरमा जेरी क्यान वा ड्रममा भण्डारण गर्दा आगलागी जस्ता गम्भीर दुर्घटनाको जोखिम हुनेतर्फ सचेत गराउनुभएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निगमले जेरी क्यान र ड्रममा पेट्रोलियम पदार्थ भर्न समेत निषेध गरेको छ। निर्वाचन अवधिभर आपूर्ति व्यवस्थालाई सहज बनाइने भन्दै निगमले नागरिकलाई ढुक्क रहन र सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ।




