काठमाडौं, फागुन २६ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणाली अन्तर्गत परेको मतको गणना जारी छ।
अद्यावधिक विवरण अनुसार हालसम्म समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ४ लाख १९ हजार २ सय ३४ मत गणना भइसकेको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ५२ मत ल्याउँदै कुल मतको ४७.९१ प्रतिशत हिस्सा ओगटेको छ।
नेपाली कांग्रेस १६.२५ प्रतिशत मतसहित दोस्रो स्थानमा रहेको छ। कांग्रेसले १६ लाख ५२ हजार ७ सय ८६ मत प्राप्त गरेको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) १३.५५ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहेको छ, जसले १४ लाख ११ हजार ४ सय २९ मत पाएको छ।
चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले ७.३६ प्रतिशत अर्थात् ७ लाख ६६ हजार ८ सय ७५ मत प्राप्त गरेको छ। दुई महिना अघि मात्र दर्ता भएको श्रम संस्कृति पार्टीले ३.४४ प्रतिशत अर्थात् ३ लाख ५८ हजार ४ सय १५ मत ल्याउँदै पाँचौं स्थानमा उक्लिएको छ र राष्ट्रिय दल बन्ने सम्भावना बलियो बनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी भने ३.१२ प्रतिशत मतसहित छैटौं स्थानमा छ। सो पार्टीले ३ लाख २४ हजार ८ सय ८१ मत प्राप्त गरेको छ।
यसैबीच, प्रत्यक्ष निर्वाचनतर्फको मतगणनामा नेपाली कांग्रेस १८ सिट, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ९ सिट, नेपाल कम्युनिष्ट पार्टी ८ सिट, श्रम संस्कृति पार्टी ३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट र एक स्वतन्त्र उम्मेदवार १ सिटमा निर्वाचित भएका छन्।




