सुर्खेत, फागुन २८ । वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा मृत फेला परेकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। घटनाको गम्भीरता र बढ्दो जनदबाबलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले थप सुक्ष्म अनुसन्धानका लागि सीआईबीको सहयोग मागेको हो।
प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टले इनिशाको जबरजस्ती करणीपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि गरेको छ। अनुसन्धानलाई थप प्रभावकारी बनाउन सीआईबीको टोली वीरेन्द्रनगर पुगेर प्राविधिक प्रमाण संकलन र विश्लेषणमा जुट्ने तयारीमा छ। घटनासँग सम्बन्धित मोबाइल लगायतका विद्युतीय सामग्रीहरूलाई फरेन्सिक परीक्षणका लागि पठाइसकिएको छ।
यस अघि नै प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १८ वर्षमुनिका चार जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पोष्टमार्टम रिपोर्ट, पोलिग्राफ नतिजा, कल रेकर्ड र अन्य इलेक्ट्रोनिक प्रमाणहरूबाट जारी अनुसन्धान निर्देशित भइरहेको प्रहरीले पुष्टि गरेको छ। सबै रिपोर्ट प्राप्त भएपछि अन्तिम निष्कर्ष निकालिनेछ। सीआईबीको प्रवेशसँगै यस जघन्य अपराधको लुकेका पक्षहरू छिट्टै बाहिर आउने र पीडितले न्याय पाउने विश्वास गरिएको छ।




