काठमाडौं, चैत्र १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदैछ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासको पहिलो नम्बरमा यस मुद्दाको पेसी तोकिएको छ।
यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले यस रिटलाई ‘नियमित सुनुवाइ’ का लागि पेस गर्न आदेश दिएको थियो। अदालतले यो विषयको गम्भीरतालाई ध्यानमा राख्दै “हेर्न नमिल्ने” बाहेकको अवस्थामा पेसी स्थगित नगर्न र निरन्तर सुनुवाइमार्फत छिटो किनारा लगाउन समेत निर्देशन दिएको थियो।
सहकारी ठगी मुद्दा खेपिरहेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको कसुरमा समेत अनुसन्धान र मुद्दा प्रक्रिया अघि बढेको थियो। तर, सरकारले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेपछि कानुनी प्रश्न उठाउँदै युवराज पौडेल (सफल), अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
महान्यायाधिवक्ता कार्यालयको सो निर्णय कानुनविपरीत रहेको भन्दै परेका यी रिटहरूमाथि आजदेखि हुने सुनुवाइलाई निकै चासोका साथ हेरिएको छ।




