काठमाडौं, चैत ३ । रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताको विश्वास र भरोसालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।
पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले पुराना दलहरूले विगतमा गरेका गल्तीका कारण अहिले उनीहरूले परिणाम भोगिरहेको उल्लेख गर्दै रास्वपाका जनप्रतिनिधिहरू नागरिकप्रति थप जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए।
“नागरिकले राज्यको उपस्थिति महसुस गर्न सक्ने, भ्रष्टाचार अन्त्य हुने र सुशासन कायम हुने सरकार निर्माण हुनु आवश्यक छ। लामो समय सत्ता चलाएका दलहरूले विगतमा गरेका गल्तीका कारण अहिले उनीहरूले परिणाम भोगिरहेका छन्। यसले हाम्रो पार्टी र जनप्रतिनिधिहरूलाई नागरिकप्रति थप जिम्मेवार र जवाफदेही बनाएको छ,” उपसभापति अर्यालले भने।
त्यस्तै, अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले मतदाताले दिएको जनादेशको सम्मान र संरक्षण गर्दै सार्वजनिक विश्वास जोगाउनुपर्नेमा जोड दिए। उनले पार्टीले पाएको जनमतले जनताको गहिरो भरोसा झल्काएको उल्लेख गरे।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, विधायीकी प्रक्रिया, नीति निर्माण र संसदीय समितिहरूको भूमिकाबारे जानकारी गराउनु रहेको छ।




