काठमाडौं, चैत ४ । आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यस जात्राको सम्बन्ध प्राचीन जनविश्वास अनुसार टुँडिखेलको पूर्व-दक्षिणमा रहेको रूखमा बास गर्ने ‘गुरुमापा’ नामक राक्षससँग जोडिएको छ। सोही राक्षसको नकारात्मक शक्तिलाई घोडाको टापले कुल्चाएर दबाउने प्रतीक स्वरूप यो जात्रा प्रारम्भ गरिएको धार्मिक मान्यता रही आएको छ।
यस विशेष अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गरिंदैछ। समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम र युद्धकला लगायतका साहसिक प्रदर्शनहरू गरिनेछन्।
उपराष्ट्रपति लगायत राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने उक्त कार्यक्रममा विभिन्न विधाका घोडा दौड प्रतियोगिता समेत हुनेछन्। नेपाली सेनाले वर्षौँदेखि यो परम्परालाई कायम राख्दै घोडाका रोमाञ्चक कलाहरू प्रदर्शन गरी संस्कृतिको संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।




