काठमाडौं, चैत ४ । प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथ मन्दिरको दर्शन गरी विशेष रुद्राभिषेक पूजा सम्पन्न गर्नुभएको छ।
हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सफल भएकोमा आराध्यदेव पशुपतिनाथप्रति कृतज्ञता प्रकट गर्दै उहाँले धन्यवाद स्वरूप यो धार्मिक अनुष्ठान गर्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अघि बढाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा राष्ट्रको थप उन्नति र प्रगतिको कामना गर्नुभयो।
उहाँले समस्त नेपालीबीच आपसी एकता, सद्भाव र आत्मीयताको भावना अझ प्रगाढ बन्दै जाओस् भनी प्रार्थना समेत गर्नुभयो। उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा र कार्यकारी निर्देशक सुवास जोशीलगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।




