काठमाडौं, चैत्र ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुरु भएको सुनुवाइ नसकिएपछि उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। सोही क्रमलाई निरन्तरता दिँदै आज पनि बहस हुन लागेको हो।
यसअघि न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले यस मुद्दालाई गम्भीरतापूर्वक लिँदै नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले मुद्दा फिर्ता लिने निर्णय गरेपछि उक्त निर्णय कानुनविपरीत रहेको दाबी गर्दै अधिवक्ताहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। आजको सुनुवाइले यस प्रकरणमा महत्त्वपूर्ण कानुनी मोड लिन सक्ने अपेक्षा गरिएको छ।




