काठमाडौं, चैत १८ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत हिजो मंगलबार उमेर हदका कारण अवकाश भएपछि मल्लले न्यायलयको नेतृत्व लिनुभएको हो।
मल्लले नेतृत्व सम्हाले पनि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा भने संवैधानिक रिक्तता देखिएको छ। संविधानको धारा २८४ (३) अनुसार, प्रधानन्यायाधीश अवकाश हुनुभन्दा कम्तीमा एक महिनाअघि नै संवैधानिक परिषद्ले नयाँ नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। तर, परिषद्को बैठक बस्न नसक्दा यो प्रक्रिया अझै टुुङ्गिएको छैन।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्ने व्यवस्था छ, जसमा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन्। हाल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएकी सपना प्रधान मल्ल नेपालको दोस्रो महिला प्रधानन्यायाधीश बन्ने क्रममा हुनुहुन्छ। मानव अधिकार र महिला अधिकारको क्षेत्रमा दख्खल राख्ने मल्ल २०७३ सालमा सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभएको थियो। वरिष्ठताका आधारमा उहाँको नियुक्ति निश्चित मानिएको छ र प्रधानन्यायाधीश बनेमा उहाँको कार्यकाल २०८५ कात्तिक ३० सम्म रहनेछ।




