काठमाडौं, वैशाख ११ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले लोकतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नगरी जनजीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु आजको मुख्य साझा दायित्व भएको बताउनुभएको छ।
जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले वर्तमान अवस्थामा जनताको अपेक्षा र राज्यले हासिल गरेका उपलब्धिबीचको दूरी घटाउनुपर्ने चुनौती औंल्याउनुभयो। लोकतन्त्रमा देखिएका समस्याको समाधान यसको विकल्प नभई अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै भएको जिकिर गर्दै थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता रहेकोमा जोड दिनुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रवाह गरिएको सन्देशमा उहाँले राजनीतिक दलहरूले नागरिकका गुनासाहरूलाई ढिलाइ नगरी सम्बोधन गर्नुपर्ने र यस दिवसले सबैलाई जनमुखी व्यवस्था निर्माणका लागि एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ।




