काठमाडौं, वैशाख २३ । सरकारले आगामी वैशाख २८ गते संघीय संसद्को दुवै सदनलाई संयुक्त सम्बोधन गर्नका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधनका लागि अनुरोध गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सन्दर्भमा राष्ट्रपतिलाई सम्बोधनका लागि आग्रह गरिएको बताउनुभयो। यो सम्बोधनसँगै सरकारको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको खाका समेत स्पष्ट हुने अपेक्षा गरिएको छ।




