विराटनगर, वैशाख २९ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आजदेखि प्रदेशस्तरीय भेला सुरु गर्दैछ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले औपचारिक कार्यक्रमहरू गरिरहेकै समयमा देउवा समूहले आफ्नो आन्तरिक रणनीति तय गर्न छुट्टै भेला आयोजना गरेको हो।
यस अभियान अन्तर्गत आज मंगलबार कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरस्थित बिग होटलमा बिहान ११ बजेदेखि सुरु हुँदैछ। भेलामा नेताहरूलाई एकताबद्ध बनाउने, आन्तरिक छलफललाई प्रभावकारी बनाउने र वर्तमान राजनीतिक अवस्थाबारे साझा धारणा बनाउने विषयमा छलफल हुने बताइएको छ।
यसैगरी, देउवा समूहले भोलि बुधबार बागमती प्रदेशस्तरीय भेला काठमाडौँमा गर्ने तय गरेको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजेदेखि सुरु हुने उक्त भेलाले पार्टीभित्रको एकता र आगामी कार्यदिशाबारे ठोस निर्णय लिने नेताहरूको दाबी छ।




