काठमाडौं, वैशाख ३१ । नुवाकोटको म्यागाङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरी खोलामा लुकाएको अवस्थामा शव फेला परेको छ। मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय सोमनाथ तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ रहेका छन्।
गत मंगलबार सिँचाइ कुलोको काम गर्न गएका उनीहरू सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा बिहीबार किम्ताङ खोलामा ढुङ्गाले थिचिएको अवस्थामा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार एक व्यक्तिले बुधबार राति प्रहरीलाई फोन गरी हत्याको जिम्मेवारी लिँदै शव लुकाएको ठाउँबारे जानकारी दिएका थिए।
प्रारम्भिक अनुसन्धानले आर्थिक लेनदेनको विवादका कारण घटना भएको देखाएको छ भने घटनास्थलबाट प्रहरीले एउटा खुकुरी समेत बरामद गरेको छ। फरार रहेका अभियुक्तको खोजी भइरहेको र शवलाई पोस्टमार्टमका लागि त्रिशूली अस्पताल लगिएको प्रहरीले जनाएको छ।




