काठमाडौं, जेठ ६ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसद् र जनताप्रति जवाफदेही बनाउन आफूहरू संसद्बाट निलम्बन हुन समेत तयार रहेको बताउनुभएको छ। प्रतिनिधि सभा बैठकमा बुधबार भएको अवरोध र विवादपछि सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष साम्पाङले यस्तो धारणा राख्नुभएको हो।
सरकारलाई प्रश्न गर्न नदिने र प्रतिप्रश्नको अधिकार खोस्ने संसद्को वर्तमान शैलीविरुद्ध आफ्नो पार्टीको विरोध आगामी दिनमा पनि निरन्तर जारी रहने उहाँले स्पष्ट पार्नुभयो।
अध्यक्ष साम्पाङले मन्त्रीहरूको जवाफमाथि थप स्पष्टीकरण सोध्न नदिने गरि सभामुख डोलप्रसाद अर्यालले गरेको रुलिङप्रति कडा आपत्ति जनाउनुभयो। सार्वभौम संसद् र संसद्को स्थापित विधि–विधानको रक्षाका लागि आफूहरू जस्तोसुकै कठोर कदम वा सजाय भोग्न तयार रहेको उहाँको भनाइ थियो।
“जनताका प्रतिनिधिले संसद्मा प्रश्न उठाउन र मन्त्रीहरूसँग प्रतिप्रश्न गर्न पाउनुपर्छ। यदि देश र जनताका मुद्दा उठाउँदा हामीलाई निलम्बन गरिन्छ भने, हामी त्यो निलम्बन भोग्न पनि तयार छौँ,” साम्पाङले भन्नुभयो।




