काठमाडौं, जेठ १८ । सरकारले मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकले गरेका ४ वटा महत्त्वपूर्ण निर्णयहरूका बारेमा जानकारी गराउनुभएको हो।
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू यस प्रकार छन्:
१. मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत
बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमबाट ओजोन तहलाई हानी पुर्याउने पदार्थहरूको व्यवस्थापन र न्यूनीकरण गर्ने सम्झौता स्वीकृत गरेको छ। ओजोन तह संरक्षणसम्बन्धी ‘मोन्ट्रियल प्रोटोकल’ को प्रभावकारी कार्यान्वयनका लागि यो सम्झौता स्वीकृत गरिएको हो।
२. सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा
सशस्त्र प्रहरी बल नेपालको रिक्त अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको छ। जसअनुसार सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गरिएको छ।
३. जाँचबुझ आयोग प्रतिवेदन अध्ययन समितिको म्याद थप
गत २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेको घटनाको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय बैठकले गरेको छ।
४. भूमि समस्या समाधान समितिमा पदाधिकारी नियुक्ति
सरकारले भूमि समस्या समाधान समितिको रिक्त अध्यक्ष तथा सदस्य पदमा नयाँ नियुक्ति गरेको छ। जसअनुसार समितिको पदाधिकारीहरूमा निम्नलिखित व्यक्तिहरू नियुक्त भएका छन्:
अध्यक्ष: बलभद्र बास्कोटा (कास्की)
सदस्य: अमिर प्रसाद न्यौपाने (काठमाडौँ)
सदस्य: पद्मनिति सोती (लमजुङ)
सदस्य: डा. रोहना श्रेष्ठ (काठमाडौँ)




