काठमाडौं, असार ४ । विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइ तथा खरिदमा भएको अनियमितता अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको बूढानीलकण्ठस्थित निवासमा म्याद तामेल गरेको छ।
हाल विदेशमा रहेकी डा. राणा सम्पर्कमा नआएपछि असार २ गते वडा प्रतिनिधिको रोहबरमा उनको घरको ढोकामा ३ दिनभित्र बयानका लागि उपस्थित हुने सूचना टाँसिएको हो। तोकिएको समयमा टंगालस्थित कार्यालयमा उपस्थित नभए कानुनबमोजिम कारबाही अघि बढाउने अख्तियारले चेतावनी दिएको छ।
सोही प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित तीन जना अधिकारीहरूलाई अख्तियारले यसअघि नै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।




