काठमाडौं, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पदाधिकारी चयनका लागि सभापति रवि लामिछानेले गरेको सर्वसम्मतिको प्रयास सफल हुन सकेन। महाधिवेशनस्थलमै महामन्त्री पदका आकांक्षीहरूसँग लामिछानेले सहमतिमा पुग्न गरेको छलफल निष्कर्षविहीन भएपछि आज बिहान १० बजेदेखि मतदान सुरु हुने लगभग निश्चित भएको छ।
पार्टीको नयाँ विधानअनुसार पदाधिकारी संख्या १९ पुर्याइएको छ, जसमा सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता र सहप्रवक्तासहितका विभिन्न पदहरू रहेका छन्।
महामन्त्री पदमा तीव्र प्रतिस्पर्धा
महामन्त्री पदका लागि सबैभन्दा धेरै आकांक्षीहरू मैदानमा उत्रिएका छन्। यस पदका लागि चुनावी प्रतिस्पर्धामा रहने नेताहरू यस प्रकार छन्:
कविन्द्र बुर्लाकोटी
विपिन आचार्य
गणेश पराजुली
मनीष झा
गणेश कार्की
रञ्जु दर्शना
सागर ढकाल
प्रमोद न्यौपाने
उपसभापति (पुरुष): स्वर्णिम वाग्ले निर्विरोध
शीर्ष नेतृत्वसँगको सहमतिको प्रयासका क्रममा केही प्रभावशाली नेताहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
शिशिर खनाल: पार्टी एकता र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिँदै महामन्त्रीको दाबेदारीबाट पछि हटेका छन्।
विराजभक्त श्रेष्ठ: खुला उपसभापतिको दौडबाट आफ्नो नाम फिर्ता लिएका छन्। श्रेष्ठले दाबी फिर्ता लिएसँगै पुरुष उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।
महिला उपसभापति: दुई प्रभावशाली नेतृबीच भिडन्त
महिला उपसभापति पदमा भने रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यस पदका लागि सोविता गौतम र तोशिमा कार्की चुनावी मैदानमा आमनेसामने हुँदैछन्। यसअघि उम्मेदवारी दिएका समीक्षा बाँस्कोटा र इन्दिरा राना मगरले आफ्नो दाबी फिर्ता लिँदै सोविता गौतमलाई समर्थन गरिसकेका छन्।
सहमहामन्त्री र उपसभापतिका अन्य विभिन्न पदहरूमा पनि उम्मेदवारी परेकाले मतदान प्रक्रियामार्फत नै रास्वपाले आफ्नो नयाँ नेतृत्व टुंगो लगाउने तयारी गरेको छ।




