चितवन, असार १७ । भरतपुर अस्पताल नर्सिङ कलेजमा बिएनएस तेस्रो वर्षमा अध्ययनरत नवलपुरको गैंडाकोट नगरपालिका–२ निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ सम्पर्कविहीन भएपछि परिवारले खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ।
परिवारका अनुसार श्रेष्ठ असार १४ गते साँझ करिब ८:०० बजे बा.प्र. ०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किनुभएको थियो। त्यसयता उहाँसँग सम्पर्क हुन नसकेको जनाइएको छ।
खोजतलासका क्रममा उहाँले प्रयोग गर्नुभएको स्कुटर देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको भए पनि उहाँको हालसम्म कुनै अत्तोपत्तो लागेको छैन।
परिवारले उहाँलाई कतै देख्नुभएको, भेट्नुभएको वा उहाँसँग सम्बन्धित कुनै जानकारी प्राप्त भएको खण्डमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन वा ९८५५०५९८५३ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरेको छ।
सन्तोषी श्रेष्ठको सकुशल खोजीका लागि परिवारले सामाजिक सञ्जालमार्फत पनि सूचना व्यापक रूपमा साझा गरिदिन आग्रह गरेको छ। परिवारका अनुसार एउटा सानो सूचना वा शेयरले पनि खोजी कार्यमा महत्वपूर्ण सहयोग पुग्न सक्छ।




