काठमाडौं, असार १८ । कञ्चनपुरका पत्रकार खेम भण्डारी बिहीबार बिहान भीमदत्त नगरपालिका-१८ बाट पक्राउ परेका छन्। चर्चित निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणसँग जोडिएको गालीबेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले सुनाएको १ महिना कैद सजाय कार्यान्वयनका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा र पत्रकार किरण बिष्टले दायर गरेको मुद्दामा अदालतले भण्डारीलाई दोषी ठहर गरेको थियो। देशव्यापी आक्रोश पैदा गरेको २०७५ सालको निर्मला पन्त हत्याकाण्डका वास्तविक दोषी भने हालसम्म पनि रहस्यकै गर्भमा छन्।




