सुर्खेत, असार २५ । नेपाली कांग्रेसको सदस्यता अद्यावधिक गर्ने अभियानको विरोधमा रहँदै आउनुभएका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा आजदेखि नेता तथा कार्यकर्ताहरूले धमाधम सदस्यता अद्यावधिक गर्न थालेका छन्। खड्काको दबाबका कारण हालसम्म अद्यावधिक नगरेका सुर्खेतका प्रभावशाली नेताहरू अन्ततः अभियानमा सहभागी हुने निर्णयमा पुगेका हुन्।
सदस्यता अद्यावधिक नगरेका जिल्ला सभापति खड्गबहादुर पोखरेलकै अध्यक्षतामा बसेको बैठकले सबै तहका नेता-कार्यकर्तालाई अद्यावधिकका लागि अनुरोध गर्ने निर्णय गरेको छ। बैठकले सबै पालिकामा स्थानीय प्रतिनिधिहरू खटाउनुका साथै उनीहरूलाई आवश्यक प्रशिक्षणसमेत दिएको छ।
कांग्रेसका केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलका अनुसार नेता खड्काका निकट मानिनुहुने जिल्ला सभापति खड्गबहादुर पोखरेलले आज आफैँले सदस्यता अद्यावधिक गरी जिल्लाभर यो अभियानको नेतृत्व गर्नुभएको छ। यसै गरी पार्टीका कर्णाली प्रदेश महामन्त्री निरन्जन केसी र कोषाध्यक्ष खगिसरा आचार्यलगायत दर्जनाैं नेता-कार्यकर्ताले पनि आजै सदस्यता अद्यावधिक गराएका छन्।
२७ गतेसम्म म्याद थप्न माग सुर्खेतमा कांग्रेसको सदस्यता अद्यावधिक गर्ने म्याद आगामी २७ गतेसम्म मात्र भएकाले अहिले अद्यावधिक गर्नेहरूको संख्या एक्कासि बढेको छ। समय अभावका कारण धेरै कार्यकर्ता छुट्न सक्ने भन्दै नेपाली कांग्रेस सुर्खेतले केन्द्रीय कार्यालयलाई पत्र लेखी म्याद थप गर्न माग गरेको छ। पार्टीका जिल्ला सचिवद्वय देवकुमार सुवेदी र बालदिप कँडेलले संयुक्त निवेदन पठाउँदै अद्यावधिकको समय २७ गतेसम्म थप गर्न आग्रह गर्नुभएको हो।
सुर्खेतमा पार्टीका केन्द्रीय सभापति गगनकुमार थापा तथा नेता डा. शेखर कोइराला निकट मानिने नेता-कार्यकर्ताहरूले यसअघि नै सदस्यता अद्यावधिक गरिसकेका थिए। खड्का निकट नेताहरूले भने उहाँको आदेशलाई पन्छाउँदै धमाधम सदस्यता अध्यावधिक गर्न लागेका हुन् । सुर्खेतमा काँग्रेसको सदस्यता अध्यावधिकका लागि पर्सी २७ गतेसम्म मात्रै म्याद भएकाले अहिले अध्यावधिक गर्नेहरुको संख्या एक्कासी बढेको केन्द्रीय प्रतिनिधि पोखरेलले जानकारी दिनुभयो ।




