काठमाडौं, असार २६ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ । शरीरको ५५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको शुक्रबार बिहान ११:२० बजे उपचारकै क्रममा मृत्यु भएको हो ।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पताल लैजान सरकारले सम्पूर्ण तयारी पूरा गरेको थियो । सरकारले उनको सबै उपचार खर्च समेत व्यहोर्ने निर्णय गरिसकेको थियो ।
तथापि, उनको स्वास्थ्य अवस्था अत्यधिक अस्थिर र संवेदनशील रहेकाले अन्यत्र स्थानान्तर गर्दा बाटोमै ज्यानको जोखिम हुन सक्ने चिकित्सकहरूले सुझाव दिएका थिए । सोही प्राविधिक सल्लाहका कारण उनलाई एयर एम्बुलेन्समार्फत दिल्ली लैजाने निर्णय स्थगित गरी वीर अस्पतालकै बर्न आईसीयूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो ।
पठाओ/इनड्राइभर जस्ता राइड सेयरिङ एपमा राइडरको काम गर्दै आएका नेपाली पछिल्लो समय चरम आर्थिक संकटमा थिए ।आर्थिक अवस्था कमजोर भएपछि उनी वैदेशिक रोजगारीमा जाने अन्तिम तयारीमा थिए । तर, उनले रोजीरोटी चलाउने मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ‘ह्वील लक’ (ह्विल लक गरी जरिवाना गर्ने कारबाही) गरिदिएपछि उनी मर्माहत बनेका थिए ।
उनले आत्मदाह प्रयास गर्नुअघि आफ्ना आफन्तजनलाई महानगरको सोही कडा कारबाही र दुःख दिने नीतिका कारण आफू आत्मदाह गर्न बाध्य भएको पीडा पोखेका थिए ।




