काठमाडौं, असार २६ । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह र निधनको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षणका रूपमा चित्रण गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै उहाँले यो घटनालाई कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नलिन सबैलाई विनम्र अनुरोध गर्नुभएको छ।
विगत र वर्तमानको दोष कोट्याउनुभन्दा पनि यस कठिन घडीमा पीडित परिवारलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग र मल्हम पट्टी गर्न जोड दिँदै नेता थापाले एउटा युवा किन यस्तो चरम निराशाको बिन्दुसम्म पुग्छ र आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ भनी राज्य र समाजमाथि गम्भीर प्रश्न उठाउनुभएको छ।
नागरिकलाई आड र भरोसा दिनुपर्ने राज्यका संयन्त्रसामु नै मानिसहरू किन यति असहाय महसुस गर्छन् भन्नेबारे इमानदार आत्मचिन्तन गर्नुपर्ने उल्लेख गर्दै उहाँले भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताउनुभएको छ।
यस दुःखद घटनाको पृष्ठभूमिमा नेता थापाले राज्य संयन्त्र र समग्र समाजमाथि केही गम्भीर र कठिन प्रश्नहरू उठाएका छन्- ‘हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?’
थापाले यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले फेरि कहिल्यै यस्तो आत्मघाती बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने उल्लेख गरेका छन्।




