बारा, ३१ असार । रौतहटमा एक २८ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। रौतहटको गरुडा नगरपालिका–९, गम्हरिया निवासी देवेन्द्र सहनीका छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आत्मघाती कदम चालेका हुन्।
घटनापछि परिवारका सदस्य र स्थानीयवासीको सहयोगमा उनलाई तत्काल उद्धार गरी गरुडास्थित स्थानीय अस्पतालमा पुर्याई प्राथमिक उपचार गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार आगलागीबाट सहनीको घाँटीभन्दा तलको करिब ३१ प्रतिशत शरीर जलेको छ।
“घाइतेको अवस्था हाल मध्यम र स्थिर छ। गरुडामा प्रारम्भिक उपचार गरिए पनि थप विशिष्टीकृत उपचार आवश्यक देखिएकाले उनलाई काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रेफर गरिएको छ,” डीएसपी गौतमले जानकारी दिए।
युवकले आत्मदाहको प्रयास किन गरेका हुन् भन्ने कारण हालसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।




