काठमाडौं, साउन १४ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ।
बैठकमा साउन १० गते सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिका साथै देशको समग्र सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो।
बैठकले सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वयलाई थप सुदृढ बनाउने निर्णय गरेको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला निकायहरूसँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिने विषयमा पनि छलफल भएको जनाइएको छ।
यसैगरी, बैठकले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गरी खोज, उद्धार तथा राहतका कार्यहरू समयमै सञ्चालन गर्ने तथा ती कार्यलाई थप सुदृढ बनाउने निर्णयसमेत गरेको छ।
सरकारले सुरक्षा, सामाजिक सद्भाव र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।




