महोत्तरी, साउन १९ । महोत्तरीको गौशाला नगरपालिका-९, डुमरीवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान इम्ली बजारबाट गौशालातर्फ जाँदै गरेको मर्डन शारदा शिक्षा सदन अंग्रेजी विद्यालयको बा १ ख ६१२९ नम्बरको स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा चालक विजय भुजेलसहित ६ जना घाइते भएका छन्।
बिहान करिब ७:३० बजे भएको यस दुर्घटनामा परी घाइते भएकाहरूको खुट्टा, नाक र कम्मरमा चोट लागेको छ भने उनीहरूमध्ये एक जनाको अवस्था मध्यम र अन्य पाँच जनाको अवस्था सामान्य रहेको छ। घटना लगत्तै सबै घाइतेहरूलाई उपचारका लागि गौशालास्थित बीके हस्पिटल र स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो भने दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।




