काठमाडौं, साउन २५ । दोलखाको गौरीशंकर गाउँपालिका–९, रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत वर्षको कात्तिक १७ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाकै शव ९ महिनापछि फेला परेको छ।
हिमाल आरोहणका लागि गएका १५ जनाको टोलीसँगै गएका उनीहरू हिमपहिरोमा परेपछि ८ जनाको सकुशल उद्धार गरिएको थियो भने घटनालगत्तै २ जनाको शव फेला परेको थियो। त्यसबेलादेखि बेपत्ता रहेका अन्य ५ जनाको शव साउन २१ गते हिउँ पग्लिएको ठाउँमा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार भेटिएका शवहरूको पहिचान खुलेको छ जसमा दोलखाका पदम तामाङ र सोलुखुम्बुका मेरे कार्की (पथप्रर्दशक) गरी दुई नेपाली तथा क्यानडाका मार्को डी मार्सेलो, इटालीका मर्कस करचिलर र जर्मनीका क्याकोब इसरिवर रहेका छन्। तीमध्ये तीन विदेशी र एक पथप्रर्दशकको शव काठमाडौं ल्याइएको छ भने दोलखाका तामाङको शव चरिकोटमै पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।




