काठमाडौं, साउन २८ । रोल्पाको थवाङ गाउँपालिका-५, बोतलधारामा गए राति पहिरोले घर र गोठ बोक्दा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमल बहादुर पुन मगर रहेका छन् भने २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संज्या घर्तीमगर घाइते भएका छन्।
घाइते हिमाल र संज्याको स्वास्थ्य अवस्था गम्भीर रहेको बुझिएको छ।
बुधबार दिउँसोदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा घर र गोठ भत्किएका हुन्।
प्रहरी र स्थानीय बासिन्दाको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याएको थियो। घटनाको थप विवरण आउन बाँकी छ।




