काठमाडौं, भदौ २ । नेपालको छापा माध्यममा देखिएको आर्थिक संकट र विज्ञापन बजारको अस्वस्थ प्रतिस्पर्धालाई व्यवस्थित गर्न राष्ट्रिय दैनिकहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।
काठमाडौंमा सम्पन्न राष्ट्रिय दैनिकहरूको साझा भेलाले स्वस्थ प्रतिस्पर्धा, पारदर्शी कारोबार र सञ्चार उद्योगको दिगो विकासलाई प्राथमिकता दिँदै घोषणा–पत्र जारी गरेको हो। राष्ट्रिय दैनिकहरूले विज्ञापन दरमा अनावश्यक प्रतिस्पर्धा नगर्ने, अस्वाभाविक छुट तथा कमिसन नदिने र विज्ञापन कारोबारलाई पारदर्शी बनाउने प्रतिबद्धता जनाएका छन्।
सरकारी विज्ञापन वितरणमा पनि पत्रिकाको पहुँच, प्रसार, पाठक प्रभाव र विज्ञापनको प्रकृतिका आधारमा वस्तुनिष्ठ तथा पारदर्शी मापदण्ड लागू गर्न सरकारसँग आग्रह गरिएको छ। छापा माध्यमको आर्थिक संकटका कारण प्रभावित पत्रकार तथा कर्मचारीको रोजगारी र पारिश्रमिक सुरक्षाका लागि संयुक्त पहल गर्ने निर्णयसमेत भेलाले गरेको छ।
भेलाले “स्वस्थ विज्ञापन बजार, सबल राष्ट्रिय दैनिक र दिगो पत्रकारिता”लाई साझा लक्ष्य बनाउँदै विज्ञापन बजार व्यवस्थापनका लागि साझा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ।




