काठमाडौं, भदौ ३ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ र श्रममन्त्री रामजी यादवले ‘बाल श्रम (निषेध र नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
साथै, ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीचको ‘दीर्घकालीन ऊर्जा व्यापार सम्झौता’ पेस गर्ने कार्यसूची रहेको छ। उता, राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रीहरूले सांसदका प्रश्नहरूको जवाफ दिनेछन् भने पर्यटनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक हवाई उडानको दायित्वसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।




