काठमाडौं, भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचन, सांगठनिक रणनीति, नीतिगत र वैचारिक विषयमा छलफल गर्न आज बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट केन्द्रीय समितिको बैठक बोलाएको छ।
बैठकमा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी तयार पारिएको ‘उम्मेदवार छनोट मापदण्ड–२०२६’ लाई अनुमोदन गर्ने, निर्वाचित जनप्रतिनिधिहरूलाई कार्यसम्पादनको आधारमा फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ अवधारणाको मस्यौदामाथि विचार–विमर्श गर्ने र केन्द्रीय समिति, पदाधिकारी, सचिवालय तथा विभिन्न विभाग र स्थानीय तह निर्वाचनका लागि गठन गरिने केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्यहरूको मनोनयन प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
यसका साथै, स्थानीय तहसम्म उम्मेदवार छनोट मापदण्डसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना र पार्टीको आधिकारिक मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ।




