काठमाडौं, भदौ ८ । भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्राण्डहरूले नयाँ मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक गर्ने तयारी गरेका छन्।
यस वर्षको अटो शोमा ११ कम्पनीका १३ वटा दुई पाङ्ग्रे ब्राण्डले सहभागिता जनाउँदै डेढ दर्जनभन्दा बढी नयाँ उत्पादनहरू प्रदर्शनीमा राख्नेछन्, जसमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएको पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रीक स्कुटर ‘यात्री पीटु’ सबैभन्दा ठूलो आकर्षण बन्नेछ।
यसका साथै, यामाहा नेपालले चारवटा नयाँ मोडल, सीजी मोटर्सले हिरो र भिडा ब्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर, मिचे अटोले पाँचवटा विद्युतीय स्कुटर र रोयल इनफिल्डको आधिकारिक बिक्रेताले नयाँ क्लासिक मोडल सार्वजनिक गर्नेछन्। क्युजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, एम्पियर, रिभोल्ट र मेटा ईभी लगायतका अन्य ब्राण्डहरूको पनि सक्रिय सहभागिता रहनेछ।
एउटै स्थानमा विभिन्न ब्रान्डका नयाँ सवारी साधनहरू उपलब्ध हुने भएकाले यो अटो शो अवलोकनकर्ताहरूका लागि नयाँ उत्पादन र प्रविधि अवलोकन गर्ने तथा सहजै आफुकूलको साधन छनौट गर्ने प्रमुख मञ्च बन्नेछ।




