काठमाडौं, भदौ ९ । प्रतिनिधिसभामा बुधबार हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमअघि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्भित्र कालो चस्मा प्रयोगका लागि संसद् सचिवालयमा आधिकारिक स्वास्थ्य रिपोर्ट पेस गर्नुभएको छ।
उज्यालोमा हेर्न असहज हुने र आँखा सुक्खा हुने समस्या देखिएपछि प्रधानमन्त्री शाहले साउन २२ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा आँखा परीक्षण गराउनुभएको थियो। सैनिक अस्पतालका लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालद्वारा जारी रिपोर्टमा उहाँलाई नियमित रूपमा ‘आइड्रप’ प्रयोग गर्न र उज्यालोबाट बच्न कालो चस्मा लगाउन सुझाव दिइएको छ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद्भित्र रङ्गीन वा कालो चस्मा प्रयोग गर्न स्वास्थ्यको आधिकारिक प्रमाण अनिवार्य चाहिने रुलिङ गरेपछि प्रधानमन्त्रीले सो रिपोर्ट सचिवालयमा बुझाउनुभएको हो। यससँगै प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रत्यक्ष प्रसारण हुने बुधबारको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले ११ जना सांसदका प्रत्यक्ष प्रश्नको सामना गर्नुहुनेछ।




