सुनसरी, भदौ ९ । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीस्थित सशस्त्र ब्यारेक नजिक पूर्व–पश्चिम राजमार्गमा जिपले सिटी सफारीलाई ठक्कर दिँदा चालकसहित पाँच जना घाइते भएका छन्।
मंगलबार इटहरीबाट झुम्कातर्फ जाँदै गरेको प्र–१–०२–००४ ह ४२४७ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फ जाँदै गरेको एउटा जिपले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि सिटी सफारीमा सवार र चालक सबै घाइते भएका छन्।
घाइते हुनेहरूमा:
१. सिटी सफारी चालक: सुनसरीको इटहरी उपमहानगरपालिका–४ बस्ने ४८ वर्षीय चन्द्रलाल चौधरी
२. मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने ७२ वर्षीय भिम परियार
३. सुन्दरहरैचा–७ कै ३० वर्षीय सबिन सुनारका ९ वर्षीय छोरा प्रनिस सुनार
४. सुन्दरहरैचा–७ कै ३० वर्षीया प्रिङ्का सोनाम
५. प्रिङ्का सोनामकी १४ वर्षीया छोरी प्रनिसा सोनाम
दुर्घटनामा गम्भीर घाइते भएका भिम परियार, प्रनिस सुनार, प्रिङ्का सोनाम र प्रनिसा सोनामको विराटनगरस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, सिटी सफारीका चालक चन्द्रलाल चौधरीको स्थानीय सान्वि सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि जिप र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ।




